काठमाडौँ । बैतडीमा कोदालो प्रहारबाट गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । नेपाली सेनाको हेलिकप्टरबाट दुई घाइतेको उद्धार गरी थप उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।

बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं. ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीको कोदालो प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको उपचारको लागि स्थानीय स्वास्थ्य चौकीमा पुर्‍याउँदा मृत्यु भएको हो ।

दशरथचन्द नगरपालिका– ९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्ट गम्भीर घाइते भएकाले उनीहरुलाइ थप उपचारका लागी कोहलपुर मेडिकल कलेज नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरि लगिएको छ ।

कलौनी र भट्टलाई बिहीबार बिहान ९ बजे किसनसिंहले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गर्नुका साथै उनकै घरमा डेरा गरी बसेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार गरेको जनाइएको छ । किसनले कोदालो के कारणले प्रहार गरे भन्नेबारे हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका एक प्रहरी निरीक्षकले बताए । कोदालो प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।