काठमाडौँ । आउदै गरेको होली पर्वसम्म पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार विशेषगरी मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पर्सि सोमबारसम्मै पानी पर्ने सम्भावना रहेको बताएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले बदली र वर्षा भएको मौसमविद्हरु बताएका छन् ।

मौसम केहीबेर खुले पनि पर्सिसम्मै वर्षाको सम्भावना रहेको जानकारी दिएको हो । काठमाण्डौसहित कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा रातिदेखि नै झरी परेको छ ।

पहाडी भेगमा आइतवार र तराई भेगमा सोमवार होली अर्थात फागु पूर्णिमा मनाईँदैछ । होलीमा रंग र अबिरसँगै पानीसमेत खेलेर रमाइलो गर्ने चलन छ । तर वर्षासँगै बढेको चिसोका कारण यसपालिको होलीमा पानी खेलेर रमाइलो गर्नेहरुलाई असर पर्ने भएको छ ।

आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी क्षेत्रका केही ठाउँमा बदली र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मध्य र पूर्वी भेगमा गएको बुधबारदेखि नै वर्षा र बदली भइरहेको हो ।