काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ९ दिने औपचारिक भ्रमणका लागि आइतबार चीन जाने भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका हुन् ।
श्रेष्ठ चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमणमा रहने मन्त्रालयले जानकारी दिएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयका अनुसार बताइएको छ।
भ्रमणका क्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने बताइएको छ । उनी चैत १९ गते नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।
