काठमाडौँ । आगामी १५ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि सबै तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । परिक्षामा देशभरका पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुने भएका छन् ।
कक्षा दशका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार ‘अधिकांश जिल्लामा कुन–कुन स्कुललाई केन्द्र बनाउने भन्नेबारे टुंगो लागिसकेको छ, तर केहीमा भने बाँकी नै छ, यो ठूलो विषय होइन,’ ‘यसबाहेक अन्य तयारी पूरा भइसकेको छ ।’
यसपटक देशभर दुई हजार ६४ वटा केन्द्र रहनेछन् भने प्रत्येक केन्द्रबाट दुई सय ५० विद्यार्थीले परीक्षा दिनेछन् । यसपटकको परीक्षामा सबैभन्दा बढी परीक्षा केन्द्र रहेको जिल्ला काठमाडौं हो । जहाँ एक सय २७ वटा परीक्षा केन्द्र रहनेछन् भने सबैभन्दा कम एक/एकवटा परीक्षा केन्द्र रहेको जिल्ला मनाङ र मुस्ताङ हुन् । मनाङमा ४३ र मुस्ताङमा एक सय सातजना विद्यार्थी छन् भने काठमाडौंमा ३८ हजार ८३१ विद्यार्थी छन् ।
एसइईका लागि जनक शिक्षा सामग्री केन्द्रले प्रश्नपत्र छपाइको कार्य गरेको थियो । सबै जिल्लाहरुमा प्रश्नपत्र ढुवानी भइरहेको पौडेलले बताउँछन् । एसइई परीक्षा सञ्चालनका लागि ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिनुका साथै ३० हजार ९५० सुरक्षाकर्मी खटिने उनले बताए । यसमध्ये सुरक्षाकर्मी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक निरीक्षक र कार्यालय सहयोगी समेत रहेछन् ।
