काठमाडौँ । सोमबार सर्वोच्च अदालतको संयुक्त इजलासबाट झापास्थित दुर्गा प्रसाईं सञ्चालक रहेको बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी भएको छ। आज तीनवटा रिटमाथि एकैपटक फैसला भएको हो।
मेडिकल शिक्षा अध्यापनका लागि सरकारले प्रारम्भिक अनुमति (एलओसी) दिई काठमाडौं विश्वविद्यालयले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस गरेको भएतापनि चिकित्सा शिक्षा आयोगले भने दिएको थिएन । त्यसपश्चात प्रसाईले विभिन्न बैंकहरूबाट अर्बौँको ऋण लिएर उनले संरचना बनाइसकेका छन् । तर, आयोगबाट अनुमति नदिएकाले उनी सर्वोच्च पुगेका हुन् ।
प्रसाईंले दायर गरेका दुईवटा रिटमा न्यायाधीशद्वय शारंगा सुवेदी र कुमार चुडालको इजलासले फैसला गरेको हो । शशीविक्रम कार्कीले सञ्चालक प्रसाईंलाई विपक्षी बनाई दर्ता गराएको निवेदनमाथि भने कानुनबमोजिम गर्न आदेश भएको सर्वोच्चले जनाएको छ । कलेजले अनुमति नपाएपछि प्रसाईंले २१ असार २०७७ मा विश्वविद्यालय, आयोगसमेतलाई विपक्षी बनाई रिट दायर गराएका थिए।
