काठमाडाैँ । नेपालले आयरल्याण्ड ‘ए’ लाई मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलामा ७१ रनको फराकिलो अन्तरले हराएको छ । आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा आयरल्याण्ड उल्भ्सलाई हराएसँगै दुई खेलको शृङ्खला नेपालले जितेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो । नेपालका गुल्शन झाले ४६, कुशल मल्लले ३४, रोहित पौडेलले ३३, सन्दीप जोराले २१ र कुशल भुर्तेलले २५ रन बनाए । आयरल्याण्ड उल्भ्सका म्याथु फोस्टरले तीन विकेट लिए ।

जवाफी ब्याटिङमा लक्ष्य पछ्याउँदै ओर्लिएको आयरल्यान्ड ‘ए’ ले भने १८.३ ओभरमा अलआउट हुनुअघि एक सय २७ रनमात्र बनाउन सक्यो । उसका लागि स्टेफेन डोनीले २६ र मोर्गन टपीङले २१ रन बनाए ।
बलिङतर्फ नेपालका सोमपाल कामी र कुशल मल्लले समान तीन-तीन विकेट लिए भने करन केसी, कुशल भुर्तेल र विवेक यादवले समान एक-एक विकेट हात पारे । सोमपालले २.३ ओभरमा १७ रन खर्चिए । कुशल मल्लले तीन ओभरमा १५ रन खर्चिएका थिए ।

आयरल्याण्ड ‘ए’ विरुद्धको शृंखलाको बाँकी खेल अब नेपाल ‘ए’ टोलीले खेल्नेछ । आयरल्याण्ड ‘ए’ सँग दुईवटा टी–२० खेलेर नेपाली राष्ट्रिय टोली भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक शृंखला खेल्न त्यसतर्फ प्रस्थान गर्नेछ । भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय टोलीले गुजरात र बरोडाको टोलीसँग त्रिकोणात्मक शृंखला खेल्नेछ । त्यसपछि नेपालको ‘ए’ टोलीले घरेलु मैदानमा आयरल्याण्ड ‘ए’ सँग टी–२० र एकदिवसीय शृंखला खेल्नेछ ।
