काठमाडौँ । किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टी–२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ ले घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय २२ रन बनाएको हो ।
आयरल्यान्डका ओपनर पिटर मुरले सर्वाधिक ४९ रन बनाए । केड कार्मिकल र कप्तान निल रकले पनि टोलीका लागि ३८–३८ रनको योगदान गरे । स्टिफन डोहेनीले पनि ३४ रन बटुले । गारेथ डेलानी ३० रन र गाभिन होए १८ रन अविजित रहे । आयरल्यान्ड ‘ए’ ले उक्त खेलमा अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो ।
नेपाली टोलीका बलर कमलसिंह ऐरीले चार ओभरमा ३९ रन खर्चिएर तीन विकेट लिन सफल भए । सागर ढकाल र आरिफ शेखले एक-एक विकेट हात पारे ।
