कोहलपुर । बागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापकहरुले मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धनपछि आफ्ना मागलाई बेवास्ता गरिएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
प्राध्यापक संघको प्रेस विज्ञप्तिमा निकाल्दै अब बस्ने विश्वविद्यालय सभा (सिनेट) बाट आफ्ना मागहरु पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘प्राध्यापकहरुले क्याम्पस समायोजन भएको झण्डै ६ वर्ष पुग्दा पनि प्राध्यापकहरुका मागहरु पुरा भएनन्, आगामी हुने सिनेटबाट समेत मागहरु पुरा नभएपछि कडा आन्दोलन गर्नेछौं ।’
क्याम्पस समायोजन हुदाँ विश्वविद्यालयको आठौं विश्वविद्यालय सभाले गरेको निर्णयका नियमावलीमा उल्लेखित अस्थायी, करार, घटुवा र आशिंक प्राध्यापकहरुलाई अहिलेसम्म पनि सम्बोधन नगरेको र अबपनि मागको बेवास्ता गरे आन्दोलनमा जानुको विकल्प नभएको बागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापक संघका सभापति राज कुमार चन्दले बताएका छन् ।
‘विश्वविद्यालयले प्राध्यापकहरुलाई अन्याय गरिरहने तर प्राध्यापक संघ टुलुटुलु हेरेर बस्दैन,’ चन्दले भनेका छन् ।
अब बस्ने विश्वविद्यालयको सिनेटले लोड पुगेका आंशिक प्राध्यापकहरूलाई करार, समायोजनका समयमा अस्थायीमा रहेका प्राध्यापकहरू र अन्य करार प्राध्यापकहरूलाई विशेष आन्तरिकबाट स्थायी र घटुवामा परेका प्राध्यापकहरूलाई सोही पदमा पुनर्वहाली र समय पुगेकाको हकमा बढुवा प्रक्रियामा लैजाने गरी सम्बोधन गर्नुपर्ने सभापति चन्दले बताए ।
