काठमाण्डौ – चिन्नास्वामी स्टेडियममा भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्टस्ले रोयल च्यालेन्जर्स बेंग्लोर (आरसीबी)लाई हराएको छ । गएराति भएको खेलमा लखनउले बेंग्लोरलाई २८ रनले हराएको हो ।
१८२ रनको विजयी लक्ष्य पछ्याएको बेंग्लोरले १९.४ ओभरमा सबै विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो । बेंग्लोरका महिपाल लोम्रोरले १३ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३३ रन बनाए । यस्तै ओपनर विराट कोहली २२, फाफ डु प्लेसिस १९ र अनुज रावत ११ रन मात्र जोडे । मयंक यादवले रजत पाटिदारलाई २९, ग्लेन म्याक्सवेललाई शून्य र क्यामरन ग्रीनलाई ९ रनमा आउट गर्दै जित सहज बनाएका थिए । नवीन उल हकले २ विकेट लिए ।
लखनऊका मयंक यादवले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिंदै लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । लखनऊका ओपनर क्विनटन डीककले ५६ बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक ८१ रन बनाए । निकोलस पुरनले २१ बलमा १ चौका र ५ छक्कासहित ४०, मार्कस स्टोइनिस २४ र लोकेश राहुल २० रन जोडे। बेंग्लोरका ग्लेन म्याक्सवेलले दुई, रिस टोप्ली, यश दयाल र मोहम्मद शिराजले समान एक/एक विकेट लिए ।
बेंगलुरुको यो तेस्रो हार हो भने लखनउको तीन खेलमा दोस्रो जित हो । बेंगलुरु ४ खेलमा २ अङ्क सहित नवौं स्थानमा छ भने लखनउ ३ खेलमा ४ अङ्क सहित चौथो छ ।
आईपिएलमा आज दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।
