सुनसरीको हरिनगरमा झडपपछि प्रशासनले जिल्लाका पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ। हरिनगर गाउँपालिका– १ भुटाहामा बिहीबार एक युवकमाथि निर्घात कुटपिट भएको थियो।
सोहि घटनामा संलग्न दुइ समूहबीचको झडपले उग्ररुप लिएपछि घटनास्थलमा प्रहरीले ८० राउन्ड हवाई फायर गरेको र ४० सेल अश्रु ग्यास प्रहार गरेको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू आदेश जारी गरेको छ। स्थानीय प्रशासनले आज मिति २०८०।१२।२३ गते दिनको ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागी कर्फ्यू आदेश जारी गरेको छ।
प्रशासनले जारी गरेको कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनमा उत्रेपछि प्रहरीले हवाइ फायर र अश्रूग्यास पनि प्रहार गरेको हो।

