काठमाडौँ। नेपालले एसएमएस फ्रेन्डसिप कप टी २० प्रतियोगिताकाे फाइनलमा गुजरातलाई १८ रनले हराउँदै उपाधि जितेको छ । नेपालले दिएकाे १ सय ७७ रनकाे लक्ष्य पछ्याएकाे गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमात्र बनाउन सक्याे ।
गुजरातका कप्तान उमांग रोहितकुमारले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाए । आर्य देशाई २४ बलमा ४ चौका र २ छक्कासहित ३६, रुद्र पटेल १७, जयमित पटेल र हर्ष देशाईले १५/१५ रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बाेहराले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र कुशल मल्लले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाए । यस्तै आसिफ शेखले ३४ र कुशल मल्लले १३ बलमा नटआउट ३१ रन बनाए । कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले ७ रन बनाए । बलिङतर्फ गुजरातका जयमीत पटेल, शेम पटेल, तेजस पटेल र जाला युवराजसिन्हले समान १ विकेट लिए ।
