काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल क्रिकेट) अन्तर्गत बिहीबार सम्पन्न खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) लाई ७ विकेटले सानदार जित दर्ता गरेको छ । यस संस्करणको दोस्रो जित दर्ता गर्ने क्रममा मुम्बईले आरसिबि माथि ७ विकेटको जित दर्ता गरेको हो ।

आरसिबिले दिएको १ सय ९७ रनको विशाल लक्ष्य मुम्बईले १५ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । मुम्बईका लागि ओपनर इशन किशनले सर्वाधिक ६९ रन बनाए । यस्तै सूर्यकुमार यादवले १९ बलमा ५ चौका र ४ छक्का सहित ५२ रन,रोहित शर्माले २४ बलमा ३८ रन बनाए भने कप्तान हार्दिक पन्ड्याले ६ बलमा २१ रन बनाए । आरसिबिका लागि आकाश दिप, विजयकुमार विशाक र विल ज्याक्सले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो । आरसिबिका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ६१ रन बनाए भने दिनेश कार्तिकले २३ बलमा ५ चौका र ४ छक्का सहित ५३ रन जोडे । त्यस्तै रजत पतिडरले २६ बलमा ५१ रन बनाए । मुम्बईका जसप्रित बुम्राह एक्लैले ५ विकेट लिएका थिए भने जेराल्ड कोट्जी, आकाश मध्वाल र श्रेयास गोपालले १-१ विकेट लिएका थिए ।

जित पछि मुम्बई ५ खेलमा ४ अङ्क सहित सातौँ स्थानमा छ भने आरसिबि ६ खेलमा २ अङ्क सहित नवौँ स्थानमा छ । भोलि लखनऊमा हुने आईपिएल अन्तर्गत लखनऊ सुपर जाएन्ट्स र दिल्ली क्यापिटल्स नेपाली समय अनुसार बेलुका पौने ८ बजे भिड्ने छन् ।