काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले काठमाडौं महानगरपालिकाको माइतीघर मण्डलादेखि बानेश्वर(कृष्ण टावर) सम्म कायम निषेधित क्षेत्र हटाइएको जनाएका छन् । अब आन्दोलनकारी शक्तिले प्रदर्शनका क्रममा भएका भौतिक क्षतिको जिम्मेवारी लिनुपर्ने र सुरक्षाकर्मीहरू घाइते भएको अवस्थामा उनीहरूको उपचार पनि गराउनुपर्ने निर्णय गरिएको हो ।  

आज मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्री लामिछानेले विभिन्न मुद्दा र मागलाई लिएर हुने आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड एवं सुरक्षाकर्मीमाथि आक्रमणविरुद्ध कडा नीति लिने भएका हुन् ।

काठमाडौंमा प्रशासनले गएको दुई महिनादेखि माइतीघर-बानेश्वर क्षेत्रमा निषेधाज्ञाको आदेश गरेको थियो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा-६ को उपदफा (३) (क) बमोजिम निषेधाज्ञा शनिबारदेखि हटाएको जानकारी गराएको हो ।

निषेधाज्ञा हटाइएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सरकारको सम्मान रहेको बताएका छन् ।