काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा १५ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदका लागि टेन्डर प्रक्रिया शुरु गरेको छ । आइतबार सिंहदरबारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी सिजनका लागि रासायनिक मलको विषयमा गरेको छलफलमा यसबारेमा जानकारी गराइएको हो ।

कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले किसानहरूलाई रासायनिक मलको अभाव हुन नदिनका लागि आगामी वर्षको लागि १५ अर्बको स्रोत सुनिश्चितता गरेर रासायनिक मल खरिदको टेन्डर प्रक्रियामा गएको बताएका छन् । सचिव शर्माले समयमा नै मल आवश्यक भएकाले अर्थ मन्त्रालयको स्वीकृतपछि २ लाख ६० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढेको जानकारी दिए ।

मन्त्रालयले किसानहरूलाई खेतीको सिजनमा रासायनिक मलको अभाव हुन नदिने उद्देश्यले बजेटअघि नै स्रोत सुनिश्चित गरी रासायनिक मल खरिद प्रक्रिया शुरु गरेको जनाएको हो । सचिव शर्माले दुई लाख ६० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । अहिले ५१ हजार मेट्रिक टन डीएपी आयात भइरहेको ९० हजार मेट्रिक टन युरिया मल हुँदा यो वर्षलाई पुग्ने बताए ।

सचिव शर्माले गहुँका लागि आवश्यक मल खरिदका लागि बजेट कुर्दा प्रक्रिया ढिला हुने भएकाले बजेटअघि नै स्रोत सुनिश्चि गरेर टेण्डर गरिएको बताउनु भयो । बाली लगाउने सिजनमा प्रायः रासायनिक मल अपुग हुने गर्छ । सरकारले समयमा नल्याउँदा चाहिने बेलामा किसानले मल पाउँदैनन् त्यसैले यो वर्ष रासायनिक मलको अभाव नहुने उहाँले दाबी गर्नुभयो ।