काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सविरुद्ध ९ रनको जित निकालेको छ। पञ्जाबका आशुतोष शर्माले ६१ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । मुम्बइका सूर्य कुमारले अर्धशतकीय पारी खेले । जितको लागि १ सय ९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा सबै गुमाउँदै १ सय ८३ रनमा समेटियो ।

पञ्जावले १३ रन बटुल्दा ४ विकेट गुमाइसकेको थियो । पहिलो चार विकेट जसप्रित बुमराह र जेराल्ड कोएट्जेले चट्काए । उनीहरूले समान २ विकेट लिएपछि पञ्जाब संकटमा पर्यो । लगतै हरप्रित सिंह पनि १३ रनमा श्रेयस गोपालद्वारा कट एण्ड बोल्ड भए । सशांक सिंह पनि ४१ रनमा आउट भए । १ सय ११ रनको स्थितिमा पञ्जाबले ७ विकेट गुमाइसकेको थियो ।

आठौं क्रमका आशुतोष शर्माले अपत्यारिलो प्रदर्शन गर्दै २८ बल खेल्दै ७ छक्क र २ चौका सहित ६१ रन जोडे । शर्मा क्रिजमा जमे र आक्रमक ब्याटिङका साथ पञ्जाबलाई जिततर्फ डोरयाउन भरपुर कोशिस गरे। तर उनी १८औं ओभर गरेका जेराल्ड कोएट्जेको पहिलो बलमा आउट भए । बलिङमा जसप्रित बुमराह र जेराल्ड कोएट्जेले समान ३ विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो । सूर्य कुमारले ५३ बल खेल्दै ७ चौका र ३ छक्का सहित ७८ रन तथा रोहित शर्माले ३६ रन बनाए । त्यसपछि तिलक बर्मा अविजित ३४ रनमा क्रिजमा रहे। कप्तान हार्दिक पाण्डयाले १० र टिम डेबिटले १४ रन जोडे । बलिङमा हर्षल पटेलले ४ ओभर बलिङ गर्दै सर्वाधिक ३ विकेट लिए । यस्तै साम कुरानले २ र कागिशो रबाडाले १ विकेट आफ्नो नाममा लेखाए ।
७ खेलमा मुम्बईको यो तेस्रो जित हो। मुम्बई ६ अङ्कसहित सातौँ स्थानमा छ। समान खेलमा पञ्जाब ४ अङ्कसहित नवौँ स्थानमा छ।
आईपीएल क्रिकेटमा आज लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन् । यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे लखनउमा शुरु हुनेछ ।
