काठमाडौं । विश्वमा सबैभन्दा बढी जनसंख्या भएको लोकतान्त्रिक देश भारतमा लोकसभा निर्वाचन सुरु भएको छ। उक्त चुनावमा ५ सय ४३ सिटका लागि हुने निर्वाचनअन्तर्गत आज पहिलो चरणको मतदान सुरु भएको हो ।आजदेखि सुरु हुने मतदान सात चरण अर्थात १ जुन सम्म चल्नेछ भने ४ जुनमा मतगणना गरिनेछ।

आज पहिलो चरणमा उत्तर प्रदेशका ८, बिहारका ४, मध्यप्रदेशका ६, राजस्थानका १२, उत्तराखण्डका ५ , पश्चिमबंगालका ३, असमका ४, मेघालयका २, अरुणाचलका २, मणिपुरका २, महाराष्ट्रका ५, तमिलनाडुका ३९, छत्तीसगढको १, मिजोरमको १, नागालैंडको १, सिक्किमको १, त्रिपुराको १, जम्मु कश्मिरको १, अण्डमान निकोबार टापुको १, लक्षद्वीपको १ तथा पुडुचेरीको १ सिट गरि जम्मा १ सय २ सिटका लागी मतदान भइरहेको हो । स्थानीय समयअनुसार अहिले बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ ।

करिब एक अर्ब ४४ करोड जनसंख्या रहेको भारतमा करीब ९७ करोड मतदाता रहेका छन् । कुल मतदातामध्ये ४९ करोड ७० लाख पुरुष मतदाता र ४७ करोड १० लाख महिला मतदाता रहेको जनाइएको छ । मतदानकालागि देशभर करिब १५ लाख मतदानस्थल स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदान इलेक्ट्रोनिक भोटिङ्ग मसिन ईभीएमबाट गरिने छ भने यसकालागि ५५ लाख ईभीएमको व्यवस्था गरिएको छ । वृद्ध र असक्तका लागि पहिलो पटक हुलाकबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

५४३ सदस्यीय लोकसभामा सामान्य बहुमतका लागि २७२ सिट जित्न आवश्यक छ । यो निर्वाचन मार्फत प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकाल पनि सत्ता सम्हाल्ने आकांक्षामा छन् । उनले चार सयभन्दा सिट जित्ने दाबी गर्दै आएका छन् । त्यस्तै विपक्षी कांग्रेस र उसको गठबन्धन मोदीलाई रोक्न जोडतोडले लागिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *