नर्वेका राजा हाराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन भएको छ। ३५ वर्षसम्म नर्वेको राजगद्दी सम्हालेका हाराल्डको शुक्रबार बिहान साढे ६ बजेतिर ओस्लोमा रहेको राष्ट्रिय अस्पतालमा निधन भएको नर्वेली राजपरिवारले जनाएको छ।

रगतसम्बन्धी एक दुर्लभ समस्याको उपचारका लागि ह्याराल्ड गएको हप्ता अस्पताल भर्ना हुनुभएको थियो। उहाँको निधनपछि दरबारको छतमा रहेको शाही झण्डा आधा झुकाइएको छ।

राजा ह्याराल्डको निधन हुनुअघिको २४ घण्टाको अवधिमा राजपरिवारका सदस्यहरूले उहाँलाई भेटेका र सर्वसाधारणको भीडले दरबारमा फूल चढाएको बीबीसीले जनाएको छ। 

हाराल्डको जन्म सन् १९३७ फेब्रुअरी २१ मा भएको थियो। उनी तीन सन्तानमध्ये कान्छा तथा एकमात्र छोरा थिए। ह्याराल्ड १४औँ शताब्दीयता नर्वेमा जन्मिएका नर्वेका पहिलो राजा हुनुहुन्थ्यो। उहाँका छोरा हाकोनले उहाँको उत्तराधिकार सम्हाल्नुभएको छ।

३५ वर्ष राजगद्दीमा बिताएका ह्याराल्डलाई एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना गरिन्छ। उहाँले राजसंस्थालाई आधुनिक बनाउनुभयो, सर्वसाधारण महिलासँग विवाह गरेर परम्परा तोड्नुभयो र नर्वेका अत्यन्त कठिन क्षणहरूमा एकताको सूत्रधारका रूपमा भूमिका निर्वाह गर्नुभयो।

राजपरिवारका मामिलाका जानकारहरूका अनुसार ह्याराल्ड सरल स्वभावका, सम्मानित र जनप्रिय हुनुहुन्थ्यो। उनीहरूले उहाँलाई राष्ट्रको ‘हजुरबुबा’ र ‘नागरिकका राजा’ का रूपमा चित्रण गरेका छन्।

सन् २०११ मा ओस्लो र उतोया टापुमा भएका बम तथा बन्दुक आक्रमणपछि ह्याराल्डले नर्वेलीहरूलाई एकअर्कालाई साथ दिन र ‘डरलाई हाबी हुन नदिन’ आह्वान गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *