काठमाडौँ । वसन्तयाममा सगरमाथा आरोहणका लागि यस वर्ष जम्मा ३५२ जना आरोहीले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि हालसम्म ५५ देशका ३३ आरोही समूह अन्तर्गत ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
विभागका अनुसार सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोहीहरु आइरहेका र यस वर्ष चार सयभन्दा बढी आरोही आउने आकलन गरिएको बताएको छ । अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए । सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको अनुमतिबापत हालसम्म रु ५६ करोड ४० लाख ३१ हजार एक सय ८१ राजस्व सङ्कलन भएको छ ।
