काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले पार्टीको हीरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट सम्मान गरेको छ । ललितपुरको गोदावरीमा नेकपा स्थापनाको हीरक महोत्सवको विशेष कार्यक्रममा पुर्वराष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरिएको हो । भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति समेत हुन् ।
आइतबार समापन भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकले भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने निर्णय गरेको थियो ।
सम्मानित भएपछि पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सम्मान समग्र लोकतान्त्रिक गणतन्त्रप्रतिको आस्था र विश्वासमाथिको सम्मान भएको भन्दै थप जिम्मेवारीबोध भएको बताउनुभयो ।
उहाँले एमाले तत्कालीन महासचिव मदन भण्डारीको रहस्यमय दुर्घटनामा मृत्यु भएपछि आफ्नो राजनीतिक यात्राले नयाँ मोड लिएको जिकिर गर्नुभयो । मदन भण्डारीलाई स्मरण गर्दा निकै भावुक हुनुभएकी भण्डारीले एमालेको प्रेरणा र प्रोत्साहन एवं जनताको चाहना अनुरुप मदन भण्डारीका अधुरा सपना साकार पार्न राजनीतिमा सक्रिय हुने परिवेश सिर्जना भएको बताउनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदान र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि अडान लिएका व्यक्तिहरूलाई सम्मान गर्ने घोषित योजनाअनुसार पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरेको एमालेले जनाएको छ ।
