काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ३८ औँ खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । गएराति भएको खेलमा मुम्बईले प्रस्तुत गरेको १ सय ८० रनको लक्ष्य राजस्थानले ८ बल बाँकी छँदै मात्र एक विकेटको क्षतिमा पछ्यायो ।

राजस्थलानलाई सहज दिलाउन युवा खेलाडी यशस्वी जैसवालले शतकीय इनिङ्स खेले । उनले ६० बलमा ९ चौका र ७ छक्का सहित १ सय ४ रन बनाए । उनलाई जोस बट्लरले ३५ रन तथा कप्तान सञ्जु स्यामसनले ३८ रन बनाउँदै साथ दिए । मुम्बईका लागि एक मात्र विकेट पियुष चावलाले लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ६५ रन बनाए । त्यस्तै नेहल वाधेराले ४९ रनको योगदान दिए भने मोहम्मद नाबीले २३ रन बनाए । शर्माले ४ ओभरमा मात्र १८ रन खर्चिएका थिए । राजस्थानका सन्दीप शर्माले घातक बलिङ गर्दै ५ विकेट लिए । ट्रेन्ट बोल्टले २ विकेट तथा अभेष खान र युजभेन्द्र चाहलले १–१ विकेट लिए ।

८ खेलमा ७ जित र १ हारका साथ शीर्षस्थानमा रहेको राजस्थानको १४ अङ्क छ । समान खेलमा ३ मा जित र ५ मा हार व्यहोरेको मुम्बई  ६ अङ्कका साथ सातौँ स्थानमा सिमीत छ ।

आईपीएलमा आज चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्स खेल्दैछन् । खेल चेन्नईमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।