काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट जोगिन सर्वसाधारणसँग आग्रह गरेको छ। गर्मीयाम बढेसँगै तराईमा तातो हावा चल्न थालेकाले मन्त्रालयले सूचना जारी गर्दै लुबाट बच्न दिउँसो घरबाट ननिस्कन आग्रह गरेको छ।
‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप कम हुने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, छाला सुक्खा, रातो र तातो हुने, ज्वरो आउने जस्ता समस्या देखिने गर्छ।
बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने भनिएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले गर्मी बढेसँगै तराईमा तातो हावा चलेर ‘लू’ लाग्ने गरेको बताए। उनले धेरै तातो हावाले मस्तिष्कमा असर गर्ने भएकाले तातो हावा चलेका वेला दिउँसो घरबाहिर ननिस्कन आग्रह गरे।
जोगिने के गर्ने :- लूबाट बच्न धेरै पानी पिउने, चिसो पानीले नुहाउने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको छोप्ने, हलुका खालको शीतल हुने कपडा लगाउनु पर्छ। घरबाहिरको काम बिहान वा बेलुका मात्र गर्ने, कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउने, फलफूल, काँक्रोजस्ता ताजा खानेकुरा खाने गर्नुपर्छ।
यी कार्यहरु नगर्ने :- दिउँसो सकभर घरबाहिर ननिस्कने, भान्सामा धेरै समय नबस्ने, बस्नै परेमा प्रशस्त्र मात्रामा पानी पिउने, धुम्रपान तथा मदिरा सेवन नगर्ने, क्याफिनले धेरै पिसाब आउने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउन आग्रह गरिएको छ।
