काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरुले दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार राति भएको खेलमा तेस्रो स्थानमा रहेको हैदरावाद पुच्छारमा रहेको रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित भएको हो ।

२ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो । ब्याटिङ ओपन गर्न आएका ट्राभिस हेड एक रन मात्र बनाएर फर्किए । उनलाई पहिलो ओभरको अन्तिम बलमा विल ज्याकले आउट गरेका थिए । त्यसपछि अभिषेक शर्मा ३१ रन बनाएर आउट भए । यस खेलमा शाहबाज अहमदले ४० र प्याट कमिन्सले ३१ रन बनाए । आरसीबीका स्वप्निल सिंह, कर्ण शर्मा र क्यामरुन ग्रीनले दुई–दुई विकेट हात पारे । विल ज्याक र यश दयालले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको बैंगलुरुले ७ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । उसका विराट कोहलीले ५१ रन बनाए ।  रजत पाटिदारले २० बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ५० रन जोडे । त्यस्तै विल ज्याकले ६ रन, क्यामरुन ग्रीन ३७, महिपाल लोमरले ७ रन, दिनेश कार्तिक ११ र स्वप्निल सिंहले १२ रन बनाए । हैदराबादका लागि जयदेव उनाडकटले तीन विकेट लिए । यसबाहेक टी नटराजनले दुई विकेट लिए । प्याट कमिन्स र मयंक मार्कण्डेले एक–एक सफलता हात पारे ।

हैदरावाद ८ खेलमा १० अङ्कसहित अङ्क तालिकको तेस्रो स्थानमा छ । बैंगलुरु ९ खेलमा ४ अङ्कका साथ पुछारमा छ ।

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र पञ्जाव किंग्स खेल्दैछन् । कोलकोत्ताको घरेलु मैदान इडेन गार्डेनमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुने छ ।