काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाबले कोलकातालाई ८ विकेटले हराएको छ । कोलकाताको इडेन गार्डेनमा गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले २६१ रनको योगफल बनाएकोमा पञ्जाब किंग्सले मात्रै २ विकेट गुमाएर १८.४ ओभरमै २६२ रन बनाएको हो।

पञ्जाबले आईपीएल क्रिकेटमा सबैभन्दा धेरै रनको लक्ष्य पछ्याउने क्रममा जितको नयाँ कीर्तिमान बनाएको हो । जितका लागी पञ्जाबका बइर्स्टोले  ४८ बलमा ९ छक्का र ८ चौका प्रहार गरी १०८ रन बनाए भने शशांकले २८ बलमा २ चौका र ८ छक्का प्रहार गरी ६८ रन जोडे । त्यस्तै प्रबशिमरन सिंहले २० बलमा ४ चौका र ५ छक्का प्रहार गरी ५४ रनको योगदान गरे। रिली रोस्सोले १६ बलमा १ चौका र २ छक्का प्रहार गरी २६ रन बनाए । कोलकाताका सुनिल नारिनले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले फिल साल्ट र सुनिल नारिनको अर्धशतकसँगै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो । साल्ट र नारिनले पहिलो विकेटका लागि एक सय ३८ रन बनाएका थिए । साल्टले ३७ बलमा ६ चौका र ६ छक्का प्रहार गरी ७५ रन तथा नारिनले ३२ बलमा ९ चौका र ४ छक्का प्रहार गरी ७१ रन जाडे ।

त्यसपछि वेंकटेश ऐयरले २३ बलमा ३ चौका र २ छक्का प्रहार गरी ३९ रनको योगदान गरे। आन्द्रे रसेलले १२ बलमा २ चौका र २ छक्का प्रहार गरी २४ रन जोडे। कप्तान श्रीयश ऐयरले १० बलमा १ चौका र ३ छक्का प्रहार गरी २८ रनको योगदान गरे। पञ्जाबका अर्शदिप सिंहले २, साम करन, हर्सल पटेल, राहुल चाहरले समान एक विकेट लिए ।

जितसँगै पञ्जाबको ९ खेलमा ६ अङ्कसहित आठौँ स्थानमा छ भने कोलकाता ८ खेलमा १० अङ्कसहित दोस्रो स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज दिउँसो पौने ४ बजे दिल्लीमा हुने खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स तथा बेलुका पौने ८ बजे लखनउमा हुने खेलमा लखनउ सुपर जाइन्ट्स र शीर्षस्थानको राजस्थान रोयल्स खेल्दैछन् ।