काठमाडौँ । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि उपनिर्वाचनको मतदान सकिएको छ । दुबै ठाउँमा मतदान शान्तिपूर्ण र उत्साहपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले शनिबार साँझ जारी गरेको विज्ञप्ति अनुसार इलाम क्षेत्र नं २ मा ५८ प्रतिशत र बझाङको प्रदेश सभा १ (क) मा ५० प्रतिशत मतदान भएको जनाएको छ भने मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको बताएको छ ।

उपनिर्वाचनमा इलाम क्षेत्र नं २ मा १ लाख १५ हजार ८८९ मतदाता र बझाङ–१ प्रदेश सभा क्षेत्रमा ६१ हजार ७४८ मतदाता थिए । इलाम नगरपालिका– ७ स्थित गौतम बुद्ध सभागृहमा साँझ ११:०० बजेभित्र मतपेटिका संकलन हुने आयोगले जनाएको छ ।

उता बझाङका मतदान केन्द्रहरू दुर्गम स्थानमा पनि रहेकाले मतपेटिका ढुवानीमा समय लाग्ने भएकोले भोलि बिहानसम्म मतपेटिका सदरमुकाम ल्याइसकेपछि सर्वदलीय बैठकबाट निर्णय गरेर गणना शुरु गर्ने मुख्य निर्वाचन अधिकारी लामिछानेले जानकारी दिए । बझाङ जिल्ला साइपाल गाउँपालिकाको ३ स्थानका मतपेटिका हेलिकप्टरबाट ल्याउनुपर्ने आयोगको भनाइ छ ।