काठमाडौँ । इलाम-२ मा भएको प्रतिनिधि सभा सदस्य उपचुनावमा दुई वटा वडाकाे मतगणना सम्पन्न हुँदा काँग्रेस उम्मेदवार डम्बर खड्काको अग्रता कायमै रहेको छ ।
फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को २ हजार ८ सय ३६ मतगणना सकिँदा खड्काले १ हजार १ सय ४५ मतका साथ अग्रता कायम राखेका छन्। यसअघि वडा नम्बर १ मा डेढ सय बढीको अग्रता लिएका खड्का वडा नम्बर २ मा पुग्दा ८२ मतले अगाडि छ ।
मतगणना सकिएका यी दुवै वडा काँग्रेसले जितेका हुन्। तर, २ नम्बर वडामा सुहाङले काँग्रेसको भन्दा बढी मत पाएपछि अग्रता साँघुरिएको हो। अहिले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६३ मत प्राप्त गरेका छन्।
त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ सय ११ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २ सय ९ मत प्राप्त गर्नुभएको छ।
हिजाे शनिवार भएको उपचुनावमा ६९ हजार २ सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । यस क्षेत्रमा १ लाख १५ हजार ८ सय ८९ जना मतदाता थिए। उपचुनावमा १२ वटा राजनीतिक दलका र सात जना स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन्।
