काठमाडौँ । गृह मन्त्रालयले विद्यालयका विद्यार्थी बोक्ने सवारीको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको छ। गृह मन्त्रालयले आज भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गर्दै मातहतका निकायलाई आवश्यक निर्देशन दिन तथा समन्वय गरिदिन आग्रह गरेको हो।
उपप्रधान एवं गृहमन्त्रीको चासोपछि गाडीको गति बढि हुँदा दुर्घटनाको जोखिम बढि हुनुका साथै बालबालिकाहरुमा नकारात्मक असर पर्ने भएकाले यस्ताे अनुराेध गरिएको बताइएको छ । गृह मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका ट्राफिक कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ तथा कार्यार्थका लागि पनि पत्राचार गरेको छ।
उक्त पत्रमा लेखिएको छ,‘मुलुकभर सञ्चालित सरकारी एवं निजी विद्यालयहरुमा अध्ययनरत बालबालिका बोक्ने सवारी साधनहरुको दुर्घटना न्यूनीकरण गर्न सो सवारी साधनहरुको गति निर्धारण गर्न आवश्यक देखिएकोले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ११५ अनुसार यातायात व्यवस्था विभागलाई उक्त जिम्मेवारी तोकिएको हुँदा उक्त सवारी साधनहरुको गति निर्धारण नगरिएको भए प्रति घण्टा ४० किलोमिटरभन्दा तल हुने गरी गति निर्धारण गर्ने व्यवस्था मिलाउन तथा गति निर्धारण भएको भए निर्धारित भन्दा बढी गतिमा सवारी चलाउने सवारी साधनहरुलाई ऐनको दफा १६४ बमोजिम जरिवाना गर्ने कानूनी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्न, गराउन त्यहाँ मन्त्रालयबाट आवश्यक निर्देशन तथा समन्वय हुन आदेशानुसार अनुरोध छ।’
