अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगलागीमा परि एक बालिकाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका-५ असुरकोटस्थित सोमबार दिउँसो खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी ४ वर्षीया अप्सरा विकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरिक्षक प्रतीत सिंह राठोरले जानकारी दिए।
अरू सदस्य घरबाहिर रहेको र बालिका घरभित्र रहेको बेला घरमा आगलागी भएकोले आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। आगलागीबाट खिमबहादुर बिक र बारबहादुर बिकका दुइटा घर र गोठ जलेर नष्ट भएका छन्।
वैशाख लागेसँगै लुम्बिनी प्रदेशका अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, रूपन्देही, कपिलवस्तु लगायतका जिल्लामा भएका आगलागीबाट ठूलो जनधनको क्षति भएको छ। वैशाख महिनामा मात्रै लुम्बिनी प्रदेशमा आगलागीमा परी सात जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
