काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले साविक विजेता चेन्नई सुपर किंग्सलाई हराएको छ । गएराति भएको खेलमा पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो ।

चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए । यस्तै राइली रुसोले २३ बलमा ४३ रन जोडे । स्याम करन २६ र शशांक सिंह २५ रन बनाएर अविजित रहे । ओपनर प्रभसिम्रन सिंह १३ रन बनाएर आउट भएका थिए । चेन्नाईका शार्दुल ठाकुर, रिचार्ड ग्लिसन र शिभम दुबेले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । उसका कप्तान रुतुराज गाएक्वाडले ४८ बल खेल्दै सर्वाधिक ६२ रन बनाए । अर्का ओपनर अजिंक्या राहानेले २९ रन बनाए भने समिर रिज्विले २१ रन जोडे । मोइन अलिले १४ तथा महेन्द्र सिंह धोनीले १४ रन बनाए । पञ्जाबका लागि हरप्रीत ब्रार र राहुल चहरले २-२ विकेट लिए भने कागिसो रबाडा र अर्शदिप सिंहले १-१ विकेट लिए ।

जित पछि पञ्जाब १० खेलमा ८ अंक सहित सातौं स्थानमा उक्लिएको छ। चेन्नाई १० खेलमा १० अंक सहित चौथो छ। आईपिएलमा भोलि हुने एकमात्र खेलमा सनराईजर्स हैदराबाद र राजस्थान रोयल खेल्दैछन्। हैदराबादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ।