काठमाडौँ । सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ का नामले परिचित प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ।
सामाजिक सञ्जालमा भाइरल भएका उनको उपचारको क्रममा बिहीबार साँझ प्यूठान जिल्ला अस्पताल विजुवारमा उनको निधन भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले जानकारी दिनुभयो। उनका ज्वाईं हिमलाल पुन मगरका अनुसार एक्कासि सास फेर्न गाह्रो भएपछि भेलुबाजेलाई अस्पताल भर्ना गरिएको थियो।
हिमलालले भने, ‘उहाँलाई एक्कासी सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरेका थियौं। बोल्न सक्ने अवस्थामा नै हुनुहुन्थ्यो। केहीबेर अघि मात्र डाक्टरले मृत घोषणा गरे।’
प्यूठान नगरपालिका-५ जुम्रिकाँडा निवासी भेलुबाजे श्रीमतीको निधनपछि विक्षिप्त थिए। उनकी श्रीमतीको एक वर्षअघि उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो।
६१ वर्षीय बुढामगरले ‘ओख्खो’, ‘बेल्कुल’ र ‘अनुरोध गरेको छु’ जस्ता थेगोले सामाजिक सञ्जालका माध्यमबाट ‘भाइरल’ बनेका थिए।
