काठमाडौँ । टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट इण्डिज ‘ए’लाई ६ विकेटले पराजित गरेको छ । यसअघि नेपालले लगातार तीन खेलमा हार बेहोरेको थियो । नेपालले पहिलो खेलमा भने वेष्ट इण्डिज ‘ए’लाई चार विकेटले हराएको थियो । नेपाल त्यसपछिको दोस्रो खेलमा १० रन, तेस्रो खेलमा ७६ रन र चौथो खेलमा २८ रनले पराजित भएको थियो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा जितका लागि एक सय ७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । यससँगै सिरिज वेस्ट इण्डिजले ३–२ ले जितेको छ ।
नेपालका लागि अनिल शाहले ४५ बलमा ४ चौका र ४ छक्कासहित ५८ र आशिफ शेखले ३५ बलमा २ चौका र ४ छक्कासहित ५१ रनको अर्धशतकीय पाली खेले । कुशल मल्लले अविजित ३७ र कुशल भुर्तेलले १३ रन जोडे ।

बलिमा वेस्ट इण्डिजका ओवेड म्याक्वेले तीन तथा म्याथ्यु फर्डले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिज ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७२ रन बनाएको थियो ।
वेस्ट इण्डिज ‘ए’ का लागि एलिक अथान्जे अविजित ४२ रन बनाए । यस्तै कप्तान रोस्टन चेजले ३३, जोनसन चार्ल्सले २४, म्याथ्यु फर्डले २३ तथा कादिम अलीने र मार्क डेयलले समान ११ रन जोडे । बलिङमा नेपालका सागर ढकाल र सोमपाल कामीले तीन तीन विकेट लिए भने अविनाश बोहराले एक विकेट लिन सफल भए । पाँच खेलको सिरिजमा यसअघिनै वेस्ट इण्डिज ‘ए’ ३–१ ले जितिसकेको थियो ।
