काठमाडौँ । ललितपुरमा लागेको आगो नियन्त्रणमा आएको छ । ललितपुर महानगरपालिका वडा–१७ बाफल स्थित एउटा टहरोमा आगलागी हुँदा पाँच जना घाइते भएका छन् । आज बिहान लागेको करिब ४५ मिनेटको आगलागीमा परी तीन जना बालबालिकासहित पाँच जना घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । मोबिल स्टोर गरिएको टहरोमा लागेको आगो अन्यत्र फैलन नलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
घाइते हुनेमा रौतहट घर भएका ३५ वर्षीय सञ्जय गिरी र उहाँकी श्रीमती रुपा गिरी, १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार आगलागीको कारण भने अझै खुल्न नसकेको बताए ।
उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते सबैको उपचारका लागि किस्ट अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
