काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्समाथि शानदार जित हासिल गरेको छ । आइतबार राति भएको ५४ औँ खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका सुनील नारायणले ३९ बलमा ६ चौका र ७ छक्कासहित ८१ रन बनाएपछि कोलकाता नाइट राइडर्सले लखनऊ सुपर जायन्ट्सलाई ९८ रनले पराजित गरेको हो। यो जितसँगै कोलकाता अंकतालिकाको शीर्षमा पनि उक्लेको छ ।
कोलकाताले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा २ सय ३५ रन बनायो । दुई पल्टको च्याम्पियन कोलकाताले लखनऊलाई १६.१ ओभरमा १ सय ३७ रनमा नै अलआउट गर्यो । टोलीका लागि मार्कस स्टोइनिसले सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै, कप्तान केएल राहुलले २५ रन तथा एस्टन टर्नरले १६ रन तथा आयुश बदोनीले १५ रन र निकोलस पुरनले १० रन बनाए ।अन्य ब्याटरले दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् । लखनउलाई सस्तोमा समेट्न हर्षित राना र वरुण चक्रवर्तीले तीन/तीन विकेट लिए भने आन्द्रे रसले दुई तथा सुनिल नरेन र मिचेल स्टार्कले एक/एक विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताका लागि प्लेयर अफ द म्याच घोषित सुनिल नरेनले ३९ बलमा ८१ रनको विस्फोटक इनिङ्स खेले । उनलाई अंगकृष रघुवंशी ३२ रन र फिल साल्टले ३२ रन बनाउँदै राम्रो साथ दिए । खेलको अन्त्यतिर कप्तान श्रेयर ऐयरले २३ रन र रमनदीप सिंहले २५ रन प्रहार गरे । लखनउका लागि नविन उल–हकले तिन तथा यश ठाकुर, रवि विश्नोई र युधवीर सिंहले एक/एक विकेट लिए ।
कोलकाताको यो ११ औं खेलमा आठौँ जित हो र उसको प्ले–अफ सम्भावना निश्चित जस्तै भइसकेको छ । दोस्रो स्थानमा झरेको राजस्थान रोयल्सले कोलकाताको तुलनामा एक खेल कम खेलेको छ । लखनउ भने १२ अङ्कसहित पाँचौँ स्थानमा सीमित छ ।

यसअघि हिजो भएको पहिलो खेलमा चेन्नईले पञ्जाबलाई २८ रनले हराएको छ । चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले सर्वाधिक ३० रन बनाए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६७ रन बनायो । चेन्नईका लागि रवीन्द्र जडेजाले सर्वाधिक ४३ रन बनाए । जितपछि चेन्नई ११ खेलमा १२ अङ्क सहित तेस्रो स्थानमा उक्लिएको छ । पञ्जाब भने ११ खेलमा ८ अङ्क सहित आठौँ स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । मुम्बईको वानखेडेमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।
