बाँकेको जानकी गा.पा. ६ मा ठुलो परिणाममा लागू औषध कारोबारीलाई प्रहरीले एक राउण्ड गोली हानी नियन्त्रणमा लिएको छ। ठुलो परिणाममा लागुऔषध कारोबार भैरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीलाई देखेपछि स्कुटरमा भागेका सुशिल परियारलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।
जानकी गा.पा. ६ रियारबस्ति स्थित शंकास्पद रुपमा स्कुटरमा सवार बाँके कोहलपुर न.पा. १२ बस्ने सुशिल परियार र प्रमोद कार्कीलाई रोकी चेकजाँच गर्ने क्रममा प्रमोद कार्कीको दाहिने गोजीबाट ११४.२६ ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको र प्रहरीले नियन्त्रणमा लिने क्रममा सुशिल परियार भाग्न खोज्दा प्रहरी द्वारा एक राउण्ड गोली फायर गरिएको र उनको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ। परियार र कार्की दुवै कोहलपुर १२ का हुन्। उनको भेरी अस्पतालमा उपचार भैरहेको छ ।
प्रहरीले परियारसँगै रहेका अर्का व्यक्ति शरण बहादुर कार्कीलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट ११४.२६ ग्राम लागुऔषध बरामद भएको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् ।
प्रहरीले त्यसक्रममा भे ६ प ६२०६ र भे ५ प ३१३५ नम्बरको दुई वटा स्कुटर पनि नियन्त्रणमा लिएको छ । प्रहरीले थप अनुसन्धान र कारवाही अगाडि बढाएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरोले उक्त कारबाही गरेको हो ।
