काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो शपथ लिनुभएको छ। प्रदेश प्रमुख परशुराम खापुङले उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो।

आम निर्वाचनपश्चातको १७ महिनामा कार्की मुख्यमन्त्रीमा तेस्रो पटक नियुक्त हुनुभएको हो। हिजो प्रदेश प्रमुखले ५२ जना सांसदको हस्ताक्षर सनाखत गरेपछि कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो। कार्कीलाई आफ्ना ३९ र माओवादी केन्द्रका १३ सांसदको साथ छ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले बिहीबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्नुभएको छ। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाट उहाँले एक/एक जना मन्त्री नियुक्त गर्नुभएको छ। नेकपा (एमाले) संसदीय दलका उपनेता रामबहादुर मगर र नेकपा माओवादी केन्द्रका सांसद गणेशप्रसाद उप्रेती (सुशील) मन्त्री नियुक्त हुनुभएको हो। मन्त्रीको कार्यविभाजन भने गरिएको छैन। दुवै जनाले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिनुभयो। उहाँहरूले यसअघि पनि विभिन्न समयमा कोशी प्रदेशको मन्त्रीको रूपमा जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने समय गुजारेका कारण बुधबार राति प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८(५) बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो।

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की भने सर्वोच्च अदालत पुग्नुभएको छ।