काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन सुरु हुन लागेको हो।

नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गरेर अनुरोध गरिसकेको छ।

बर्खे अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनका साथै आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुनेछ। आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) सरकारले प्रत्येक वर्ष जेठ १५ गते प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

तर, बैठकमा कांग्रेसले अवरोध गर्ने सम्भावना पनि छ। सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले अघिल्लो अधिवेशनमा सदन अवरुद्ध गरेको थियो।