काठमाडौँ । नेपाली काँग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज दिउँसो बस्दैछ । काँग्रेसले संसदको घटनाक्रमबारे छलफल गर्न संसदीय कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ ।

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गर्ने कार्यक्रम तय भएको छ। बैठकले जेठ १ गते संसदमा पेश गर्ने तयारी गरिएको सरकारको नीति तथा कार्यक्रममा अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्नेछ।

काँग्रेसले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति माग गरिरहेको छ। तर, सरकार छानबिन समिति नबनाई जबरजस्ती अघि बढ्न खोजेको काँग्रेसले आरोप लगाएको छ। आजको बैठकमा समिति गठनको विषयलाई थप सशक्त बनाएर लैजाने विषयमा छलफल हुने काँग्रेसले जनाएको छ।