काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार आफ्नो अन्तिम खेल खेलेको मुम्बई लखनउ सुपर जायन्ट्ससँग १८ रनले पराजित भएको छ ।

गएराति भएको खेलमा लखनउले दिएको दुई सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रन मात्रै बनाउन सक्यो । उसका रोहित शर्माले ३८ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए । त्यस्तै देवल्ड ब्रेविसले २३ रन, कप्तान हार्दिक पाण्ड्याले १६ रन र इशान किसनले १४ रन जोडे । नमन धीर २८ बलमा ४ चौका र ५ छक्का प्रहार गरी ६२ रन बनाएर नट आउट रहे । लखनउका रवि बिस्नोई र नवीन उल हकले समान दुई विकेट, क्रुनाल पाण्ड्या र मोशिन खानले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय १४ रन बनाएको थियो । उसका निकोलस पुरनले २९ बलमा ५ चौका र ८ छक्का प्रहार गरी ७५ रन बनाए । त्यस्तै केएल राहुलले ४१ बलमा ३ चौका र ३ छक्कासहित ५५ रन बनाए भने मार्कस स्टोइनिसले २८, आयुष बदोनीले २२ तथा क्रुनाल पाण्ड्याले १२ रन जोडे। मुम्बईका नुवन थुसारा र पियुष चावलाले समान तिन विकेट लिए।

जितसँगै लखनउको १४ खेलमा १४ अङ्क भएको छ । लखनउ तालिकाको छैठौँ स्थानमा छ । मुम्बई १४ खेलमा ८ अङ्कका साथ पुछारमा रह्यो ।

आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र चेन्नई सुपर किंग्स खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे बेंगलुरुमा शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *