काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट आज विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

नेपालको संविधानको धारा १०० को उपधारा (२) मा गरिएको सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम उनले प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका हुन् । उक्त विश्वासको मत सम्बन्धी पेश भएको प्रस्तावमा प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन पर्ने व्यवस्था छ ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतका लागि प्रतिनिधिसभाको कूल संख्याको १३८ मत आवश्यकता पर्दछ । २०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।

यसअघि कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १५७ सांसदको समर्थन पाएका थिए ।

उनले ६ चैत्रमा दोस्रोपटक र २६ पुसमा पहिलोपटक विश्वासको मत पाएका थिए । पहिलोपटक विश्वासको मत लिँदा २६८ सांसदको अभूतपूर्व समर्थन पाएका प्रचण्डले दोस्रोपटक १७२ सांसदको साथ पाएका थिए । तेस्रोपटक उनले दोस्रोपटकको तुलनामा १५ मत कम पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *