काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न निर्देशन दिएको छ ।

महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम कामपाले यही जेठ १४ गतेभित्र सूचना अधिकारी तोकेर महानगरपालिकालाई जानकारी गराउन निर्देशन दिएको हो ।
महानगरपालिकाको शिक्षा विभाग प्रमुख गोविन्दप्रसाद शर्माका अनुसार कामपाले यसअघि पनि शैक्षिक सङ्घसंस्थालाई सूचना अधिकारी तोकेर विभागमा पठाउन आग्रह गरेकोमा आग्रहअनुसार केही विद्यालयले मात्र सूचना अधिकारी तोकि जानकारी पठाएकाले पुनः निर्देशन दिइएको हो ।
सूचना अधिकारी तोक्दा संस्थाको दोस्रो जिम्मेवारीमा रहेको व्यक्ति हुनुपर्नेछ । हाल महानगरपालिकामा ८७ सामुदायिक विद्यालय र ६ सय संस्थागत विद्यालय सञ्चालनमा छन् ।
यसअघि महानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका सहकारीहरूले सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागलाइ जानकारी गराएका छन् ।

