काठमाडौँ । आज १७ औँ गणतन्त्र दिवस मनाइँदैछ । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन आज दिवसका रूपमा मनाइन्छ ।
नेपाली जनताको आन्दोलन र परिवर्तनको आकांक्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदैछ । तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदैछन् । सरकारले यसअघि तीन दिन जेठ १४, १५ र १६ गतेसम्म दीपावलीसहितका कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेअनुसार कार्यक्रम भइरहेका छन् ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए भने त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो । २०६५ सालमा गणतन्त्र र २०७२ सालमा संविधान घोषणा भएपछि देशमा सङ्घीयता कार्यान्वयन भएको छ ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेताहरुले गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै नागरिकमा छाएको निराशाहरु सबै मिलेर हटाउनुपर्नेमा जोड दिएका छन् । त्यस्तै आज गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको छ । सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ ।
