काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट २०२४ मा नेपाल र श्रीलङ्काबीचको खेल भारी वर्षाले मैदान भिजेका कारण रद्द भएको छ । मंगलबार राती देखिको लगातार भारी वर्षाका कारण टस समेत हुन नपाई खेल रद्द भएकोले दुबै टोलीले एक/एक अङ्क बाँडेका छन् ।
आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजरभ डे राखिएको छ । त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुवै टोलीले १-१ अंक बाँडेका हुन् ।
नेपाल र श्रीलंका दुबै देशका खेलाडीले समर्थकलाई धन्यवाद दिएका छन् । नेपाली समर्थकको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा बाक्लो उपस्थिति थियो ।
नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । भने उता श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।
नेपालले दुई र श्रीलङ्काले एक खेल खेल्न बाँकी रहेको छ । नेपाली टोली अमेरिकाबाट वेस्ट इन्डिज जानेछ । नेपालले अब सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग शनिबार र सोमबार बंगलादेशसँग खेल्नेछ ।
नेपालले समूह ‘डी’ बाट शीर्ष दुईमा रहेर सुपर आठमा पुग्न बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ । यो समूहमा दक्षिण अफ्रिका सुरुवाती ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ ।
त्यस्तै बंगलादेश र नेदरल्यान्ड्सको समान २ खेलमा १ मा जित र १ मा हारसहित २-२ अंक छ । नेटरनरेटका कारण बंगलादेश दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् । नेपाल २ खेलमा १ अंकका साथ चौथो स्थानमा छन् । श्रीलंका ३ खेलमा १ अंकका साथ पुछारमा छ ।
