काठमाडौँ । भ्रष्टाचार अभियोग लागेका उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल सहित आठ जनालाई विशेष अदालतले सफाइ दिने निर्णय गरेको छ।
बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले सुनुवाइ गर्दै तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल सहित ८ जनालाई सफाइ दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजहरुमाथि उद्योगका लागि अनावश्यक १६० किलोवाटको भेरियबल फ्रिक्वेन्सी ड्राइभ (भिएफडी) खरिद गरेको आरोपमा रु २२ लाख ७८ हजार रुपैयाँभन्दा बढी नोक्सानी गराएको दाबीसहित १० माघ २०८० मा मुद्दा दायर गरेको थियो। सोही विवादमा निजहरुलाई अदालतले सफाई दिएको हो।
अख्तियारले यस मुद्दामा उद्योगका तत्कालीन महाप्रबन्धक पौडेल र नायब महाप्रबन्धक नवलकिशोर साहका साथै तत्कालीन कायममुकायम उपनिर्देशक पवनकुमारलाल कर्ण, उद्योगका तत्कालीन प्रबन्धकहरू भरतप्रसाद नेपाल, कमलराज पौडेल र नवौँ तहका अधिकृत डेमलाल खनाल उद्योगका दुई निर्देशक ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेलाई समेत प्रतिवादी कायम गरिएकोमा सबैले सफाइ पाएका हुन्।
