काठमाडौँ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड रुपैयाँको बजेट अनुमान सार्वजनिक गरेको छ। प्रदेश सभा बैठकमा आज (शनिबार) प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ नारासहित आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो।

कर्णालीले पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख रुपैयाँ अर्थात् ५९ दशमलव ७ प्रतिशत विनियोजन गरेको छ भने चालू सात अर्ब ५७ करोड ५५ लाख ९२ हजार रुपैयाँ अर्थात् २४ दशमलव १२ प्रतिशत विनियोजन गरेको छ। वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको छ।

प्रदेश सरकारले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट आकार झण्डै १ अर्ब ९६ करोड रुपैयाँ घटाएको छ। चालु आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँ विनियोजन गरेको थियो ।