काठमाडौँ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ बजेट ल्याएको छ । आज (शनिबार) प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री टकराज गुरूङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो ।
बजेटमा चालुतर्फ कुल बजेटको ३९.९१ प्रतिशत अर्थात् १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पुँजीगततर्फ ५९.१९ प्रतिशत अर्थात् १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार रुपैयाँ रहेको छ। वित्तीय व्यवस्थातर्फ ३ करोड विनियोजन गरिएको छ। यो कुल बजेटको ०.९० प्रतिशत हुन आउँछ। सो रकममध्ये आगामी आवमा १ करोड ७६ लाख ११ हजार प्रदेश संचित कोषमाथि व्ययभार हुने अनुमान गरिएको छ।
आगामी आवको लागि खर्च बेहाेर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६३ करोड ८८ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख, सशर्त अनुदानतर्फ ३ अर्ब १० करोड ११ लाख, समपूरक अनुदानतर्फ १ अर्ब १९ करोड र विशेष अनुदानतर्फ ६५ करोड ५५ लाख प्राप्त हुने अनुमान छ। प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व ५ अर्ब १७ करोड प्राप्त हुने अनुमान छ। चालु आवको वार्षिक कार्यक्रम कार्यान्वयनपछि २ अर्ब ९४ करोड नगद मौज्दात बचत हुने अनुमान छ। यसरी न्यून हुने रकममध्ये १ अर्ब ७० करोड आन्तरिक ऋणबाट पूर्ति हुने बताइएको छ।
गण्डकीको आगामी बजेटले विभिन्न विषयलाई आफ्नो उद्देश्य र प्राथमिकतामा राखेको छ। बजेटको उद्देश्यमा गुणस्तरीय पूर्वाधार तथा उत्पादन अभिवृद्धि, रोजगारी तथा आयमा वृद्धि गर्नु, मानव पूँजी निर्माण विकासको लक्ष्यको समन्वायिक वितरण स्थापित गर्नु, सामाजिक न्याय र समन्यायिक हासिल गर्नु, गुणस्तरीय सार्वजनिक सेवामार्फत सुशासन अभिवृद्धि गर्नु रहेको अर्थमन्त्री डा.गुरुङले बताए।
यस्तै, बजेटका प्राथमिकतामा दिगो र उत्थानशील पूर्वाधार निर्माण, आय उत्पादन र रोजगारीमा वृद्धि, सामाजिक विकास र समतामूलक समाजको स्थापना, सर्वसुलभ स्वास्थ्य र गुणस्तरीय शिक्षा, सन्तुलित क्षेत्रगत विकास र सुशासन प्रवर्द्धन, गुणस्तरीय सेवाप्रवाहलगायत छन्।
चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षको बजेट आकार भने ८५ करोड रुपैयाँले घटाइएको हो ।अन्य प्रदेशमा झैं गण्डकी प्रदेशले पनि चालू आर्थिक वर्षको तुलनामा आगामी बजेट आकार घटाइएको हो ।
