नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएका हुन् ।
काँग्रेस एमालेको सत्ता समीकरणका लागि सहमति जुटेपछि एमालेका मन्त्रीहरुले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको एक मन्त्रीले जनाएका हुन् ।
प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका थिए ।
