बाढीमा डुबेर कञ्चनपुरका दुई किशोरीको मृत्यु भएको छ भने एक हराइरहेकी छन्।

पुनर्वास नगरपालिका-५, रातोखालीका १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको सोमबार दिउँसो घर नजिकै डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले बताए।

सोमबार दिउँसो सिर्जना र लक्ष्मीसँगै आरती र अञ्जली बोगटी सधैं हिंड्ने बाटो हुँदै अर्को टोलमा गएका थिए। घरबाट निस्केर अर्को टोलमा जाँदै गर्दा उनीहरू पानीमा डुबेको एसपी जोशीले बताए।

उनीहरू डुबेको देखेपछि स्थानीय बासिन्दा उद्धारमा जुटेका थिए। १२ वर्षीया अञ्जलीको उद्धार गरिएको छ। सिर्जना र लक्ष्मीको शव भेटिएको हो।

अर्की किशोरी आरती हराइरहेकी छन्। स्थानीय बासिन्दासँगै सुरक्षाकर्मीले उनको खोजी गरिरहेको एसपी जोशीले बताए।

तीन दिनदेखि लगातार वर्षा हुँदा नदीनालामा आएको बाढीले कञ्चनपुरको अधिकांश क्षेत्र डुबानमा परेको छ। बाटाघाटा सबै डुबानमा परेकाले घर बाहिर निस्किन मुश्किल भइरहेको छ। डुबानका कारण बाटो नदेखिंदा उनीहरू डुबेको हुन सक्ने एसपी जोशीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *