नेदरल्याण्ड्सलाई हराउँदै इंग्ल्याण्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा प्रवेश गरेको छ । आज बिहान जर्मनीको इडुना पार्क स्टेडियममा भएको दोस्रो सेमिफाइनल खेलमा नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इंग्ल्याण्ड फाइनलमा स्थान पक्का गरेको हो ।
जाभी सिमोन्सले सातौं मिनेटमा नै नेदरल्याण्ड्सलाई खेलमा अग्रता दिलाएका थिए । इंग्लिश मिडफिल्डर डेकलान राइसको खुट्टाबाट बल खोसेर बक्सको छेउबाट शक्तिशाली प्रहारमा गोल गर्दै सिमोन्सले डच टोलीलाई अग्रता दिलाएका थिए ।
इंग्ल्याण्डले १८औं मिनेटमा पेनाल्टी मार्फत खेलमा बराबरी गर्यो । डेन्जेल डम्फ्रिजले ह्यारी केन माथि बक्समा फाउल गरेपछि पाएको पेनाल्टीमा केनले नै गोल गर्दै खेल बराबरी गरेका थिए ।
तर खेलको अन्तिम समयमा गोल गर्दै इंग्ल्याण्डले फाइनलमा स्थान पक्का गर्यो । ८१औं मिनेटमा मैदान प्रवेश गरेका दुई खेलाडीले गोलमा महत्वपूर्ण भूमिका खेले । कोल पालमरको पासमा ओली वाटकिन्सले उत्कृष्ट फिनिश गर्दै इंग्ल्याण्डलाई जित दिलाए ।
अब उपाधिको लागि इंग्ल्याण्ड र स्पेनबीच आउँदो आइतवार राति खेल हुनेछ । फ्रान्सलाई हराउँदै स्पेन पनि फाइनलमा पुगेको छ ।
