नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ।पहिरोले बगाउँदा बस त्रिशूली नदीमा बेपत्ता भएको र ती बसमा चालकसहित झण्डै ६५ जना यात्रु रहेका प्रहरीले जनाएको छ।
घटनास्थलमा पुग्नु भएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उहाँका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका बताइएको छ । तर यकिन विवरण थाहा भैनसकेको र खोजी भइरहेको प्रजिअ यादवले जानकारी दिनुभयो । उहाँले हामी घटनास्थलमा नै छौँ पानी परिरहेकाले कठिनाइ भएतापनि उद्धारको काम नरोकिएको र पहिरो पन्छाउन सुरु गरिएको बताउनुभयो ।


