चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित झोलुंगे पुलनजिक पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टमसहित खोजी कार्य सुरू भएको छ। डुङ्गामा जडान गरेर पानी भित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्याउँछ ।
ती उपकरणसहित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नम्बर १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित सशस्त्रको ३५ जनाको सुरक्षाकर्मी बेपत्ताहरूको खोजीकार्यमा परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। त्यस्तै खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित गरिएको छ।
शुक्रबार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा दुई वटा डिलक्स बस खसेका थिए । काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र एन्जल वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन् । तर, शुक्रवार १५ घण्टा खोजी गर्दा पनि बस र यात्रुको अवस्था पत्ता लागेको छैन ।
शुक्रबार नदीमा पानीको बहाव उच्च भएकाले खोजी गर्न कठिन भएको थियो। आज त्रिशूलीमा पानीको वहाब कम भएकाले खोजीकार्य प्रभावकारी हुने बताइएको छ।
