अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प गोली लागेर घाइते भएका छन् । शनिबार अमेरिकाको पेन्सिलभेनियाको बट्लरमा चुनावी र्यालीलाई सम्बोधन गरिरहेका बेला अन्धाधुन्धा गोली चल्दा एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । रिपब्लिकन उम्मेदवार ट्रम्पले सम्बोधन गरिरहँदा चलेको गोली उनको कानमा लागेको छ। मञ्चबाट सुरक्षित स्थानतर्फ लगिँदै गर्दा ट्रम्पको कानबाट रगत बगिरहेको भिडियोमा देख्न सकिन्छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कुनै पनि हिंसात्मक घटनालाई ठाउँ नदिइने बताउनुभएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले पनि घटनाको निन्दा गर्नुभएकाे छ ।
